फाइल फाेटाे

हेटौंडा । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व स्वाथ्य तथा जनसख्यामन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए । मनहरी गाउँपालिका वडा नम्बर ४ गोलघरस्थित बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्ने क्रममा खतिवडामाथि कुटपिट भएको हो । खतिवडालाई गठबन्धनमा आवद्ध कार्यकताले नै कुटपिट गरेको बुझिएकाे छ ।
कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका खतिवडा मकवानपुर–२ बाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार हुन् । खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित भएका थिए । सांसद भएको ३० बर्षपछि खतिवडा स्वास्थ्यमन्त्री बन्ने अवसर समेत पाएका थिए । चारपटक सांसद बनेका खतिवडा पाँचौपटक सांसद बन्ने दौडमा छन् । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको बताइएकाे छ ।