हेटौंडा – नेकपा एमाले मकवापुर क्षेत्र नं–१ को ‘ख’ का उम्मेद्वार एकालाल श्रेष्ठले आफु भत्ता खान र नेता बन्न संसदमा जान नखोजेको र जनताको सेवा गर्नका लागि उम्मेदवारी दिएको बताएका छन् । बुधवार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा ५ को आयोजनामा गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त आफु संसदमा जान खोजेको बताएका हुन् ।
एमाले जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीमा अनेक संकट आउँदा उभिएको र हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको बताए । उनले स्थानीय तहमा जस्तो कुनै पनि कमजोरी नगरि कार्यकर्ताहरुलाई मतदान शिक्षा देखि ओली सरकारले गरेका राम्रा कामको प्रचार गर्न आग्रह गरे । यसपटक चुनाव जित्ने धेरै आधारहरु भएको भन्दै बर्तमान अवस्थाबाट जनतालाई बचाउन सके चुनाव जित्ने निश्चित भएको श्रेष्ठको भनाई थियो । उनले आफुले चुनाव जितेर गएको अवस्थामा जनताको हितको लागि कानुन बनाउन पहल गर्ने , युवाहरुको विषयमा आवाज उठाउँने र हेटौंडाको विकासमा आहोरात्र खट्ने समेत बताए ।