काठमाडौँ । राजनीतिक दल तथा उम्मेदवारहरूले भोलिदेखि निर्वाचन लक्षित भेला, आमसभा, कोण सभा तथा र्‍याली गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवार तथा राजनीतिक दलहरूले भोलिदेखि सभा–सम्मेलन र र्‍यालीको आयोजना गर्न पाउने बताउनुभयो ।
यस्तै उम्मेदवार तथा राजनीतिक दलहरूले भोलिदेखि आयोगले तोकेको आचारसंहिता तथा खर्चको सीमाभित्र रहने गरी सञ्चार माध्यमहरू बाट समेत विज्ञापन गर्न सक्ने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारलाई मनोनयन दर्ताको दिनदेखि मतदान हुने दिन भन्दा १७ दिन अगाडि सम्मको अवधिलाई पहिलो चरण र त्यस पछिको चरणलाई दोस्रो चरणमा विभाजन गरी पहिलो चरणमा उम्मेदवारहरूलाई मतदाता भेटघाट र घरदैलो कार्यक्रम मात्र गर्न स्वीकृति दिएको थियो । आयोगले अब दल तथा उमेद्वारहरुले आयोजना गर्ने सभा, सम्मेलन र र्‍यालीको खर्च समेत उम्मेदवारको निर्वाचन खर्चमा जोडिने स्पष्ट पार्दै त्यससम्बन्धी सम्पूर्ण खर्चको विवरण सम्बन्धित उम्मेदवारले मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने जनाएको छ ।
यस्तै आयोगले निर्वाचन आचार संहिता लागु भएदेखि हालसम्म विभिन्न ७१ जना व्यक्ति तथा संस्थाहरूलाई स्पष्टीकरण सोधेको जानकारी दिनुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सरकारी श्रोत साधनको प्रयोग हुन नदिने तर्फ आयोग सचेत रहेको र त्यस्तो कार्य नगर्न–नगराउन आयोगको सबैमा अनुरोध रहेको पनि बताउनुभयो ।