मकवानपुर – मकवानपुर प्रहरीले हेटौंडाबाट करीब २० किलो चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नम्बर–१४ बाट करीब १६ लाख ४० हजार रुपैयाँ बराबरको चाँदीका गरगहना र भाँडासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४४ वर्षीय लाल बाबु साह रहेको प्रहरीले जनाएको छ । हेटौंडा–१४, डाईभरडाडाबाट प्रदेश २–०३–०१८ प ८२४८ को मोटरसाइकलमा हेटौंडा बजारतर्फ आउँदै गरेका साहलाई चेकजाँच गर्दा १९ किलो ८४५ ग्राम चाँदीबाट बनेको अवैध गरगहना र भाँडा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । उक्त अबैध चांदीका गरगहना, मोटरसाइकल र साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।