मकवानपुर – राष्ट्रिय सभा सदस्यको आजसम्पन्न निर्वाचनमा बागमती प्रदेशतर्फको खाली दुवै सिटमा सत्तारुढ गठबन्धनका उमेदवार विजयी हुनुभएकाे छ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्य गरि दुई सदस्यका लागि भएको निर्वाचनमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बन्नु भएकी नेकपा (एस) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी हुनुभएको हो ।
निर्वाचन परिणाम अनुसार तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात २०८८ मतभार र प्रदेशतर्फ ५७ मत अर्थात २७३६ मतभार गरी कुल ४८२४ मतभार प्राप्त गर्नुभएको छ । भने, पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात २१०६ मतभार र प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गर्नुभयो ।
निर्वाचनमा नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ गरि कुल कुल ४३६२ मतभार प्राप्त गर्नुभयो । यस्तै एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात २०८८ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गर्नुभयो ।
यस्तै नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार गरि कुल ८४ मतभार प्राप्त गर्नुभयो । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले पनि स्थानीय तहतर्फ २ मत अर्थात ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ गरि कुल ८४ मतभार प्राप्त गर्नुभयो । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए ।
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३ सय ४६ मतदाता रहेको थियो । जसमध्ये प्रदेशसभाको १०९ मा १०६ मत र स्थानीय तर्फ शतप्रतिशत अर्थात २३७ मत खसेको थियो भने दुई मत बदर भएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तर्फ १ मतको मतभार १८ र प्रदेशतर्फ १ मतको मतभार ४८ रहने व्यवस्था छ । आजको निर्वाचनमा विवेकशील साझा पार्टीले भने सहभागिता जनाएको छैन् । विवेकशीलको बागमती प्रदेशतर्फ तीन मत रहेको थियो ।