फाइल तस्विर

मकवानपुर– मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको समृद्धिमा सहकारीको महत्वपुर्ण भुमिका हुने बताउनुभएको छ । हेटौंडामा शनिबार मकवानपुर नमुना प्रगति सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले देशमा समृद्धि आउनको लागि सहकारीको ठुलो भूमिका रहने बताउनुभएको हो ।
राज्यको तीन खम्बे नितिमा सहकारी एउटा खम्बा भएको भन्दै मुख्यमन्त्री पौडेलले सहकारीहरु व्यवस्थित रुपमा संचालन हुनुपर्ने बताउनुभयो । उहाँले धेरै हैन गुणस्तरीय सहकारीको खाँचो रहेको भन्दै सहकारीहरु अब एकिकरण गरेर अगाडी बढ्नु पर्ने बताउनुभएको छ । सहकारीले बचत गर्ने र ऋण लिने काम मात्र नभई उत्पादनसंग जोडिएर लगानी गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाई थियो । उत्पादन संग जोडिएर काम गर्दा रोजगारी सिर्जना हुने र आर्थिक वृद्धि हुने हुनाले त्यसतर्फ सहकारीलाई लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।
सहकारी मार्फत लगानी गरिएका कृषि तथा पशुजन्य क्षेत्रबाट उत्पादित वस्तुलाई विचौलिया बाट बच्न सहकारी मार्फतनै किनबेच गर्ने वातावरण सिर्जना गरिनुपर्ने मुख्यमन्त्री पौडेलको भनाई थियो । उहाँले बिचौलीयाको अन्तयकैलागि प्रदेश सरकार लागेको र छिट्टै परिणम पनि देखिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले एक ठाउँमा उत्पादित वस्तु अन्य स्थानमा पठाउन सक्ने व्यवस्था गर्न सहकारीले ठुलो भूमिका खेल्ने भएकाले किसानलाई सहज हुने गरि र बिचौलीयाको अन्त्यकालागि सहकारीले यस्तो विषयमा ध्यान दिएर काम गर्नुपर्ने समेत बताउनुभयो ।