बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा आज भएको बस दुर्घटनामा परि ज्यान गुमाएका १६ मध्ये ९ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जनामध्ये नौ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
सनाखत भएको ९ जना मध्ये हेटौँडा उपमहानगरपालिका–७, की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ र २० वर्षीया स्वस्तिका श्रेष्ठ, पर्साको वीरगञ्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कँडेल र पर्साको वीरगञ्ज १६ का सकेमप्रसाद चौरसिया रहेको गौतमले जानकारी दिनुभयो ।
यसैबीच बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज लगिएको छ । मकवानपुरको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको गौतमले बताउनुभयो । बसमा करीब ५१ जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस तीब्र गती र वर्षाका कारण अनियन्त्रीत भई दुर्घटना भएको हो ।