मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज रामेश्वर रानाले नेकपा एमाले सधैं श्रमिकको पक्षमा रहेको बताउनु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगर पालिका कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रानाले एमाले सधैं श्रमिकको पक्षमा रहेको बताउनु भएको हो ।
श्रमिककै हितका लागि एमालेले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गरेको उहाँको भनाइ छ । सबै श्रमिकहरूका लागि सामाजिक सुरक्षाको थप ग्यारेन्टी पनि एमालेले नै गर्ने उहाँले बताउनु भयो । आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताउँदै रानाले आगामी मंसिर ४ गतेको चुनावपछि एमालेको सरकार बन्ने दाबी पनि गर्नुभयो । सामाजिक न्याय र लोककल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि एमालेलाई जिताउन श्रमिकको सम्पूर्ण शक्ति परिचालित हुन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले श्रमिकहरुले बनाएको पार्टीको संरक्षण श्रमिकहरुले नै गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा एमालेलाई जिताउन हरेक श्रमिकले २ मत बढाउने र ५ मत सुरक्षा गर्ने कामका लागि योजना बनाएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्यहरु एवम् मजदुर इञ्चार्ज अर्जुन ढुङ्गेल र गिता कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रम बारेमा जानकारी गराउनु भएको थियो । यसैगरी उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियन र राजनिती बारे प्रशिक्षण गराउनु भएको पार्टी सचिव नवीन सिग्देलले बताउनुभयो । भेलाले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मजदुर इञ्चार्ज अर्जुन ढुङ्गेलको संयोजकत्वमा जिफन्ट आवद्ध घटकका प्रतिष्ठान इकाई तहका कमिटीका पदाधिकारी सदस्यहरु रहेको ३५१ सदस्यीय मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी समेत निर्माण गरेको छ ।