प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाइसक्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूले आज बेलुकी ५ बजेभित्र आयोग परिसरभित्र प्रवेश गरी दुवै चुनावकाे समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने धारणासमेत राख्नुभयो । आयोग परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा थपलियाले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलहरूले आजै बन्दसूची बुझाउन नसके भोलि (मङ्गलवार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो । गएकाे पालिका चुनावमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरूले कटाएको उल्लेख गर्दै अहिले पनि त्यही अवस्था आउन सक्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘विगतको अनुभवलाई हेर्दा त भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौँ । आज बेलुकी ५ बजेभित्र आइपुगेर दलहरूले बन्दसूची बुझाइदिए हुन्थ्याे भन्ने हाम्रो भनाइ छ ।’निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि हिजो र आज दुई दिनको समय दिएको थियो । आयोगले यही असोज ९ गते राजनीतिक दलहरूलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नामहरू सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिनेछ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । उहाँका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ । सार्वजनिक भएको ती नामावलीअनुसार दलहरूले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरू निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ । निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचनसम्बन्धी सबै काम अघि बढाउन प्रतिबद्ध भएर लागिपरेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।