स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाएर आउन सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गरेको छ । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो भन्दै मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले आज सूचना जारी गर्नुहुँदै डेंगु रोगको जोखिम कम गर्नका लागि सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गर्नुभएको हो ।
मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुका समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको हो । डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ । त्यस्तै, नेपालमा हाल देखा परिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेका पनि मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ’खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले डेंगु रोगको बारेमा सन्देशमूलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको भन्दै डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरू गरिएको पनि सूचनामा उल्लेख गरेको छ ।