निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारसँग अढाइ लाख कर्मचारी मागेको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले आयोगले यस पटक निर्वाचन प्रयोजनका लागि सरकारसँग २ लाख ४६ हजार कर्मचारी मागेको बताए । यो संख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा करिब ५० हजार बढी हो । स्थानीय तहको निर्वाचनमा करिब २ लाख कर्मचारीलाई खटाइएको थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेलले निर्वाचन आयोगले माग गरेअनुसार आयोगलाई कर्मचारी पठाउने काम भइरहेको बताए । आयोगले आवश्यक ठाने सङ्घ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था छ । यो सङ्ख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग गर्न सक्छ। निर्वाचनमा खटिने सबै कर्मचारीलाई आयोगले तालिम दिने भएको छ ।
दवाडीका अनुसार यस पटक देशभर मतदान स्थल र मतदान केन्द्र थपिनेछन्। त्यस कारण कर्मचारी तथा सुरक्षाकर्मीको संख्या पनि बढ्ने भएको हो । गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ देखि ९ कर्मचारी खटाइएका थिए। तर यस पटक एउटा मतदान केन्द्रमा ११ देखि १३ जनासम्म कर्मचारी रहने भएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि यस पटक करिब ५ लाख मतदाता थपिने आयोगको अनुमान छ । यद्यपि मतदाता नामावलीको अन्तिम सूची भदौ ३१ गते प्रकाशित हुनेछ । स्थानीय तहको निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए ।