हेटौंडा – हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षको बजेट १८ करोड ८२ लाख २० हजार रुपैयाँ प्रस्तुत गरेको छ । बुधबार बोर्डले पत्रकार सम्मेलन गरेर गत आर्थिक वर्षको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको हो ।
बोर्डका अध्यक्ष प्रताप विष्टले सेवामुखी बन्दै सेवाक्षेत्र विस्तार गरी उपभोक्तालाई गुणस्तरीय पानी सहुलियत दरमा वितरण गरिने बताउनुभयो । अध्यक्ष विष्टले नगर क्षेत्रका उपभोक्ता समितिमार्फत सञ्चालित खानेपानी योजनालाई पनि बोर्डमै गाभेर सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गरिने जानकारी दिनुभयो । चुहावट र पानी चोरी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न बोर्डले सघन निगरानी गरिरहेको पनि विष्टको भनाइ थियो ।
पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले करको दर नभई दायरा बढाएर आयश्रोत बढाउने र नगरवासीको आधारभूत आवश्यकताका विषय सहुलियतपूर्ण दरमा वितरण गर्ने योजना रहेको उल्लेख गर्नुभयो । उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि खानेपानीको न्यूनतम महसुल छुट गरेको जानकारी गराउनुहुँदै नगर प्रमुख लामाले छिट्टै शिक्षाको क्षेत्रमा स्नातक तहमाा इन्जिनियरिङको पठनपाठन, कानून विषयको स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । यस्तै उपमहानगरपालिकाले प्रसुती अस्पताल सञ्चालन गर्ने योजना बनाएको पनि उहाँले बताउनुभयो ।
बोर्डको बजेट समितिका संयोजक ईन्द्रप्रसाद नेपालले खानेपानी व्यवस्थापन बोर्डको सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । दैनिक १ करोड ८२ लाख लिटर पानी उत्पादन गरी वितरण गर्दै आएको बोर्डको धारा संख्या २२ हजार २ सय १४ रहेको छ । दैनिक ७ देखि ८ घण्टा खानेपानी वितरण भइरहेको जानकारी गराउनुहुँदै नेपालले भन्नुभयो, “खानेपानी वितरणका लागि बोर्डले ४ सय ३ किलोमिटर पाइपलाईन बछ्याएको छ ।”
बोर्डले चालु आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ १३ करोड २५ लाख रुपैयाँ अनुमान गरेको छ भने बाह्य आम्दानीमा २ करोड ६७ लाख रुपैयाँ रहने अनुमान गरेको छ । बोर्डको बैंक खातामा २ करोड ८९ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा ५ करोड ३९ लाख रुपैयाँ चालु खर्च, सेवा सञ्चालनका लागि ३ करोड ८२ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ ९ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । साविक नेपाल खानेपानी संस्थानबाट व्यवस्थापन बोर्डमा रुपान्तरण भएपछि बोर्डले सेवा प्रवाह गुणस्तरीय बनाउँदै लगेको छ ।