आज साउनको अन्तिम सोमबार, मकवानपुर लगायत देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुहरुको को भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि सुरु गरेको व्रत विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गरिदै छ । सोमबार हेटौंडा नगर र आसपास रहेमा शिवालयहरुमा आज बिहानै देखि श्रद्धालुहरूको भिड लागेको छ ।
साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउनु भयो । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो लागेको छ । यस वर्ष साउनमा पाँच सोमबार परेका थिए ।











