प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताउनुभएको छ । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट ‘केटू’ को कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता हुनुभएका निर्मल पूर्जालगायतका दश नेपाली आरोहीलाई मङ्गलबार बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आउँदा दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छेअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले माउन्ट केटूको सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आउँदा दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताउनुभयो । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उहाँको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरूको साहसिक कदमको आउँदा दिनमा राज्य बेखबर नहुने बताउनुभयो । वर्तमानसँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उहाँको भनाइ छ । माउन्ट केटूका आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भइ हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताउनुभयो । माउन्ट केटू आरोहण गरि नेपालको नाम विश्व सामु राखेको उहाँको भनाइ छ । दश जनाको समूहको नेपाली आरोहीले गएकाे माघ ३ गते माउन्ट केटू हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मङ्गलबार नेपाल फर्किएको हो ।