नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । अध्यक्ष द्वयबिच ओली निवास बालकोटमा भएको भेटवार्तामा राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
उहाँहरुबीच चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा भएको भेटवार्ता भए पनि कुनै विशेष एजेन्डामा छलफल नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै दलसँग संवादको ढोका खुल्ला राखेको बताउँदै उहाँले यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने जानकारी दिनुभयो । राप्रपा महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष ओलीलाई भेटेको दुई दिनपछि अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष ओलीलाई भेट्नु भएको हो ।