मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आठौं जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको छ । भोली बुधबार आयोजना हुने आठौं जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलानले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको चालु आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट अनिबार्य पारित गर्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै जिल्ला सभा आयोजना गर्न लागिएको प्रमुख घलानले जानकारी दिनुभयो । नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७) मा उल्लेखित काम कर्तव्य र अधिकार बमोजिम जिल्ला सभा गर्ने प्रवधान अनुसार जिल्ला सभा आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभाबाट जिल्ला समन्वय समिति मकवानपुरले हालसम्म गरेका काम कारवाही तथा अर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७९/८० को आय तथा व्ययको अनुमान सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७८/०७९ को संसोधित व्यय विवरण, विनियोजिन तथा प्रगति समिक्षा, बेरुजु तथा सम्परिक्षण सम्बन्धी प्रतिवेदन र अधिकार प्रत्यायोजन प्रस्ताव पारित गरिने उहाँले बताउनुभयो । यस्तै जिल्ला सभाका अवसरमा जिल्लाका स्थानीय तह मध्ये उत्कृष्ठ तीन वटा स्थानीय तहलाई सम्मान गरिने जानकारी दिनुभयो ।