अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो ।यातायात मनत्रालय स्रोतका अनुसार १ जेठ २०७८बाट लागू हुने गरी यातायात व्यवस्था विभागले जारी गरेको अंकभारमा आधारित प्रणालीको लाइसेन्स परीक्षा लिन सबै प्रदेश सहमत भएका हुन् ।
अहिलेसम्म बाग्मती प्रदेशले नै यो प्रणालीबाट परीक्षा लिन चासो दिएको थिएन । केही प्रदेशमा सुरु भएपनि अन्योलहरु कायम थिए । अब सबै प्रदेशमा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी एकैनासको हुनेछ । पुरानो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक(फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ । त्यही संग्रहभित्रबाट लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने हुन्छ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ । नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू हुन्छ ।