हेटाैंडा– एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गरिने पर्व गाइजात्रा आज मनाइंदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ ।

राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती छ । नेवार समुदायको बसोबास रहेका देशका विभिन्न शहरमा गाईजात्रा मनाइन्छ । तर यसपाली कोरोना सङ्क्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएकाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।

आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएकोछ । गाईजात्रा निकाल्दा गाईलाइ अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाइ जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरु ठाँउ र शहरमा पनि गाइजात्राको मनाइँदै आइएको छ । अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरु नजिकिंदै गरेको सङ्केत पनि गर्दछ । पारीलो घाम, उज्याला दिनहरु, चिसिंदै गरेका बतास अनि खेतको सकिएको रोपाँई । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।