हेटौंडा – बागमती प्रदेश सरकारको नीति कार्यक्रम र बजेट व्यवस्थित गर्न सहजीकरण समिति गठन गरिएको छ । एमाले बागमती प्रदेशको शुक्रबार बसेको संसदीय दलको बैठकले ९ सदस्यीय सहजीकरण समिति निर्माण गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा काठमाडौं बसेको संसदीय दलको बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजटेलाई व्यवस्थित र सन्तुलन बनाउन ९ सदस्यीय समिति गठन गरिएको एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । प्रदेश सरकारलाई सन्तुलित र बजेट ल्याउन सुझाव दिन गठित सहजीकरण समितिमा राजेन्द्र पाण्डे, अरुण नेपाल, रामेश्वर फुयाँल, कैलाश ढुंगेल, रमा आले, दिपक निरौला, केशव पाण्डे, नारायण सिलवाल र कृष्ण खनाल रहनुभएको छ । उहाँहरुले तत्काल काम आरम्भ गर्ने मुख्य सचेतक निरौलाले जानकारी दिनुभयो । यस्तै बैठकमा एमाले बागमती प्रदेश संसदीय बोर्डले माधव पक्षका १४ सांसदलाई स्पष्टिकरण सोधिएको विषयमा माधव पक्षका सांसदहरुले आफ्नो धारणा राख्नुभएको थियो । तर दलको बैठकमा सो छलफलको विषय नभएको मुख्य सचेतक निरौलाले बताउनुभयो । एमाले सांसदहरुले जनमुखि, सन्तुलित र कोभिड केन्द्रित बजेट ल्याउन बैठकमा जोड दिएका थिए । बैठकमा माधव नेपाल पक्षका अष्टलक्ष्मी शाक्य सहित अन्य सांसदहरुको पनि उपस्थिति थियो ।