निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको आज शुक्रवार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदाे आइतवारदेखि दल दर्ता आह्वान गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि निर्वाचनको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । सरकारले हिजो बिहीवार आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकेको छ । निर्वाचनको मिति घोषणासँगै आजदेखि मतादाता नामावली सङ्कलन कार्य बन्द गरेर निर्वाचनको तयारी तीव्र बनाएको आयोगले जनाएको छ ।