हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले आज सपथग्रहण गरेका छन् । हेटौंडाको पल्पसाहलमा आयोजित कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरपालिकाका मेयर मिना कुमारी लामालाई सपथग्रहण गराउनुभयो । त्यसैगरी मेयर लामाले उपमेयर राजेश बानियाँ, १९ वटै वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथग्रहण गराउनुभयो ।


सपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै मेयर लामाले हेटौंडा उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने अठोट गर्नुभयो । चुनाबमा पराजित भएकाहरुले पनि जितेको महसुस गर्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–‘हामीले प्राविधिक रुपमा जितेका हौं । प्रतिपक्षी दलको घोषणापत्र र हाम्रो घोषणापत्रलाई लिएर संगै काम गछौं ।’ नगरको विकासका लागि सबै एक भएर काम गर्ने उहाँले बताउनुभयो ।