इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्स विजयी भएको छ । मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ५८ रनको लक्ष्य पञ्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ४९ रन जोडे भने शिखर धवनले ३९, जोनी बेयर्स्टोले २३ रन बनाए ।
यस्तै, जितेश शर्मा र शारुख खानले समान १९ रन बनाए । हैदराबादका फाजल्हक फारुकीले २ विकेट लिए भने वासिङ्टन सुन्र, जगदेशा सुचिथ र उम्रान मलिकले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । हैदराबादका अविशेक शर्माले ४३, रोमारियो शेफर्डले २६, वासिङ्टन सुन्दरले २५ र राहुल त्रिपाठीले २० रन जोडे । पञ्जाबका नाथन एलिस र हरप्रित ब्रारले ३/३ विकेट लिए भने कागिसो राबडाले एक विकेट लिए । जितसँगै १४ खेलमा १४ अङ्क जोडेको पञ्जाब अङ्क तालिकाको छैटाैँ स्थानमा छ । हैदराबाद १२ अङ्क जोडेर आठौँ स्थानमा छ ।