मकवानपुर– महिला, शान्ति र सुरक्षा सम्बन्धी छलफल तथा परामर्श कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव नम्बर १३२५, १८२० र अन्य पुरक प्रस्तावहरुको कार्यान्वयन गर्न दोस्रो चरणको राष्ट्रिय कार्ययोजना तर्जुमा सम्वन्धी गृह मन्त्रालयको आयोजनामा छलफल तथा परामर्ष कार्यक्रम भएको हो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघको उक्त प्रस्तावका विषयमा पहिलो चरणमा भएका तथा दोस्रो चरणमा गर्नुपर्ने कामका विषयमा छलफल भएको थियो । कार्यक्रममा संयुक्त राष्ट्रसंको प्रस्तावमा तीनै तहका सरकार कृयाशिल भएर लाग्नु पर्ने र सोको लागि योजना बनाउँदै देखि ध्यान दिनु पर्ने कुरामा जोड दिईएको थियो । हाल सम्म भएका उपलब्धीहरुलाई संस्थागत गर्दै आगामि दिनमा उक्त प्रस्तावलाई अझै प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारे कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले द्वन्दपीडितको एजेण्डा सरकारले बोल्नुपर्ने बताउनुभएको छ । मन्त्री जमकट्टेलले संघीय सरकारले द्वन्द पीडितहरुलाईहरुलाई पक्षपात गरेको भन्दै पहुँच भएका द्वन्द पीडितलाई सरकारले संरक्षण गर्ने र अरुलाई वास्ता नगर्ने प्रवृति त्याग्नुपर्ने वताउनुभयो । द्वन्द पीडितको एजेण्डा बाकेर गैरसरकारी संस्थाहरुले बोल्ने भन्दा पनि अव यो एजेण्डा स्थानीय, प्रदेश र संघीय सरकारको एजेण्डा बन्नु पर्ने वताउनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विगतका कुरालाई समिक्षा गरेर अगाडी बढ्नु पर्ने बताउनुभएको छ । राज्यको प्रणाली अनुसारको ऐन कानुन नबन्दा पनि समस्या हुने गरेको भन्दै उहाँले कार्यक्रम कार्यान्वयन गर्ने तर्फ केन्द्रीत ऐन कानुन बन्नु पर्ने बताउनुभएको छ । समन्वयको पाटोमा जिल्ला समन्वय समिति रहेको भन्दै उहाँले राष्ट्रसंघको उक्त ऐजेन्डा उपर सबैले खुलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जिल्ला समन्वय समिति महासंघको भुमिका उक्त समेतका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार वस्नेत, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, द्धन्दपिडितलगायतकाको सहभागिता थियो ।