मकवानपुर– ४ सय के भि प्रसारण लाईन विस्तारमा मकवानपुरका स्थानीयले असन्तुष्टि जनाएका छन् । स्थानीय सरकार र सरोकारवाला सर्वसाधारणलाई जानकारी नदिइ एकलौटी ढंगले विधुत प्रसारण ट्रयाक निर्माण गर्न लागेको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले असन्तुष्टि जनाएका हुन् ।

स्थानीयको स्वीकृति बिना नै ४ सय केभी बिद्युत प्रसारणको ट्रयाक निर्माण गर्न लागेको भन्दै आयोजना प्रभावित हेटौडा १, ३, ११ र १९ नम्बर वडाका स्थानीयले असन्तुष्टि जनाएका हुन् । नयाँ हेटौंडा सब स्टेशन मार्फत हेटौंडा हुँदै बिद्युत प्रशारण लाइन निर्माणको वातावरणीय प्रभाव मुल्याङकनको मस्यौदा प्रतिवेदनका बारेमा सोमबार हेटौंडामा भएको सार्वजनिक सुनुवाइमा स्थानियवासिले मान वस्ति भन्दा बाहिर बाट विद्युत प्रसारण लाईन लानुपर्ने बताएका हुन । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९ मा गरि १२ किलोमिटर बिद्युत प्रसारण हाइटेन्सन लाइन निर्माण गर्दा स्थानीयलाई बसोबासमा समस्या पर्नुका साथै स्वास्थ्यमा समेत असर पर्ने भन्दै स्थानीय स्तरबाट पुन सर्वेक्षण हुनुपर्ने समेत उनिहरुले माग गरेका छन् ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालको आयोजनामा भएको कार्यक्रमममा उक्त आयोजनाबाट हेटौंडाका वन क्षेत्र १२ हेक्टर र ४३ हेक्टर जमिन निजी क्षेत्रका प्रभावित हुने अनुमान गरिएको छ । ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा उहाँले स्थानीयको माग बमोजिम कसैलाइृ असर नपर्ने गरि विकल्पहरु खोजेर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले वातावरणीय प्रभाव पर्ने तथा स्थानीयको स्वास्थ्यमा असर पर्ने गरि जिल्लामा कुनै पनि आयोजना सञ्चालन नहुने समेत बताउनुभयाे । कार्यक्रममा सम्बन्धीत वडाका वडाअध्यक्षाहरू, जिल्लाका गैरसरकारी सँस्थाका प्रतिनिधी, स्थानीय वडाका जनप्रतिनिधीहरु लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।