अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।
सेप्टेम्बरमा श्रीलङ्कामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि यु-१७ राष्ट्रिय टिम बनाउन एन्फाले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो । एन्फाले यू-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ । श्रीलङ्कामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालसहित भारत र भुटान समूह बी मा छ । समूह ए मा आयोजक श्रीलङ्का, मालदिभ्स र बङ्गलादेश छन् ।