नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ मौरी खौलामा गएको पहिरो हटाउने क्रम नसकिएकोले अझै यातायात सञ्चालनमा आउन सकेको छैन । सोमबार राति ११ बजे गएको पहिरोका कारण मंगलबार दिनभर यातायात ठप्प रह्यो । बेलुकी ६ बजेसम्म पनि पहिरो नहटेकाे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
थप पानी नपरे साँझसम्म पहिरो सफा गरिसक्ने लक्ष्य रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका डिएसपी प्रकाश श्रीमलले बताउनुभयो । सडकभन्दा तीन सय मिटर पर पहाडै खसेको छ । पहिरोका ढुंगाहरू खोल्सो हुँदै सडकमा आएर थुप्रिएको श्रीमलले बताउनुभयो । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले पानी परे आज पहिरो हटाइसक्न गाह्रो पर्ने बताउनुभयो । दिउँसोदेखि पानी पर्न रोकिएको छ । यो सडक काठमाडौंलाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग हो । दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने यो सडकमा वर्षायाममा हरेक वर्ष पहिरोले सताउने गर्छ । सडक सञ्चालनमा नआउँदा यात्रुहरू पैदलै बाटो पार गरिरहेका छन् ।