प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताउनु भएको छ । समितिको प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीको भनाइ छ । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको याे प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गर्नु भयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीलाई याे प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पार्नु भयो । समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा प्रतिवेदन आएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘इन्टरनेशनल छानबिन गरौँ । यो देश विरुद्धको अपराध हो । देशको अर्थतन्त्र माथिको गम्भीर अपराध हो । याे तथ्यमा आधारित रिर्पोट होइन । त्यसकारण त्यसलाई मान्न सक्ने कुरा हुँदैन । नेपाली जनताले त्यसलाई अस्वीकार गर्नु पर्दछ ।’
अध्यक्ष ओलीले सत्तारुढ दलहरुले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकीर समेत गर्नु भयो । देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।