मकवानपुर – मकवानपुरका १० स्थानीय तहको कुल बेरुजू ६६ करोड ८६ लाख बढी रहेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमा आर्थिक वर्ष २०७६÷०७७ भन्दा करीब १० करोड बेरुजू बृद्धि भएको उल्लेख छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाका १० स्थानीय तहमा ५७ करोड ७३ लाख ८२ हजार रुपियाँ बेरुजू रहेकामा आर्थिक वर्ष २०७७÷०७८ मा त्यो बढेर कुल बेरुजू ६६ करोड ८६ लाख ६९ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाका १० स्थानीय तह मध्ये सबैभन्दा कम बकैया गाउँपालिकाका १.०२ प्रतिशत र सबै भन्दा बढि मनहरी गाउँपालिकाको १०.२५ प्रतिशत बेरुजू रहेको छ ।
प्रतिवेदन अनुसार बकैया गाउँपालिकाको कुल १ अर्ब ४९ करोड ३८ लाख ४० हजार रुपियाँको लेखा परीक्षण हुँदा १ करोछ ५२ लाख ६८ हजार अर्थात १.०२ प्रतिशत बेरुजूकायम भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम लेखा परीक्षणमा जिल्लाको थाहा नगरपालिकामा सबै भन्दा कम बेरुजु रहेको थियो ।
त्यसैगरी दोस्रो कम बेरुजू बागमती गाउँपालिकाको २.३३ प्रतिशत, तेस्रो हेटौंडा उपमहानगरपालिका ३.१७, चौथो स्थानमा थाहा नगरपालिका ३.९६ प्रतिशत कायम रहेको छ । यस्तै इन्द्रसरोवर गाउँपालिकाको ५.०१ प्रतिशत, कैलाशको ५.३९, भिमफेदीको ४.६९, मकवानपुरगढीो ५.५६, राक्सिराङको ४.१६ र मनहरी गाउँपालिकाको सबैभन्दा बढि १०.२५ प्रतिशत बेरुजू रहेको प्रतिवेदनमा उल्लेख छ ।