बागमती प्रदेश सरकारले महत्व दिएको पाउडर दुध उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले प्राथमिकताका साथ गौरवको योजनामा राखेको धुलो दुध निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ लगानीमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिगाहा क्षेत्रफलमा पाउडर प्लान्ट निर्माण भइरहेको छ । हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि प्रदेश सरकारले हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माण कार्य सुरु गरेको थियो ।
किसानले उत्पादन गरेको दूध विभिन्न कारणले सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएका भन्दै उक्त समस्या समाधान गर्न प्लान्ट निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको थियो। प्लान्ट निर्माणका लागि चालू आर्थिक वर्ष २०७७र७८ मा काठमाडौं इजी इन्फा प्रालिसँग एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, कोरोना भाइरस महामारीका कारण मेसिनहरु विदेशबाट ल्याउन समस्या भएपछि तीन महिना म्याद थपेर काम गरिएको कम्पनीका प्रमुख उत्तम पौडेलले जानकारी दिए ।
उनले प्लान्ट निर्माण कार्य अन्तिम चरणमा रहेको भन्दै अबको दुई महिनामा प्लान्ट पूर्णरुपमा निर्माण सम्पन्न भई सरकारलाई हस्तान्तरण गरिने बताए। प्लान्टले बागमती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुने प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटाले जानकारी दिए ।
उनले हाल मेसिनबाट पाउडर दूध र घिउ निकाल्नका लागि दुई महिनामा सबै काम पूरा हुने समेत बताए। उद्योग स्थापना निर्माण सम्पन्न भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालन गरेर रोजगारी पनि सिर्जना हुने उनले बताए। उक्त पाउडर प्लान्ट सञ्चालन भएसँगै चार प्रदेशका किसानले उत्पादन गरेको दूध खपत गर्न सकिने मन्त्रालयले जनाएको छ ।
प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही जिल्ला सहित बागमती प्रदेशका कृषकले उत्पादन गरेको दूधलाई खपत गरी पाउडर बनाउने मन्त्रालयको योजना छ। पाउडर प्लान्ट सञ्चालनका लागि प्रदेश १ को सुनसरी, धरान, झापा मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहूँ लगायतका जिल्लाबाट दूध आयात गरिने जनाइएको छ ।
उक्त प्लान्ट सञ्चालन पश्चात् चार प्रदेशका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने मन्त्रालयको अनुमान छ भने कृषकहरूबाट दैनिक ६० हजार लिटर दूध खरिद गरिने जनाइएको छ। कृषकले उत्पादन गरेको दूधबाट दैनिक पाँच मेट्रिक टन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ।
प्लान्टबाट उत्पादित पाउडर दूध सात वटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट बिक्री वितरण गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्लान्ट सञ्चालन भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ८० जनाले रोजगारी पाउने बताइएको छ। प्लान्ट सञ्चालनका लागि आवश्यक प्राविधिक कर्मचारी तथा अन्य अप्राविधिक कर्मचारीले रोजगारी पाउने मन्त्रालयले जनाएको छ । थाहा खवरबाट ।