देशभर १७ प्रतिशत मात्र खेतमा रोपाइँ भएको कृषि विभागले जानकारी दिएको छ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिममा मनसुन सक्रिय भएको र रोपाइँ तीव्र रुपमा भए पनि अन्य प्रदेशमा भने मनसुनमा ढिलो भएको कारण रोपाइँ १७ प्रतिशतमै खुम्चिएको हो । गत वर्ष यही बेला ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
असार १५ गतेसम्म प्रदेश नम्बर १ मा १८ प्रतिशत र मधेस प्रदेशमा ११ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा ३८ प्रतिशत र कर्णाली प्रदेशमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अरु प्रदेश रोपाइँ भइरहे पनि पछिल्लो विवरण भने नआएको विभागकी प्रवक्ता जानुका पण्डितले बताउनुभयाे । गत असार १० गतेसम्मको तथ्यांकअनुसार, बागमती प्रदेशमा २५ प्रतिशत र लुम्बिनी प्रदेशमा ९ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्षको असार १५ गतेसम्म देशभर ३५ प्रतिशत रोपाइँ सकिएको थियो । पश्चिममा छिटो मनसुन सक्रिय हुँदा रोपाइँ राम्रो भए पनि अन्य प्रदेशमा भने आसातित रुपमा रोपाइँ हुन सकेको उहाँले जानकारी दिनुभयाे । नेपालमा कुल १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । गत वर्षमा ९६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।