काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) भदौ २५ देखि आयोजना गर्न अनुमति दिएको छ । एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै प्रतियोगिता आयोजना गर्नका लागि भदौ २५ देखि कात्तिक ५ गते सम्मको लागि स्वीकृति प्रदान गरेको हो ।
पछिल्लो समय ए डिभिजन क्लबहरूले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो । एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको सङ्ख्या १० पुर्‍याएको हो । यस पटक विराटनगर सिटी एफसी, वीरगन्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभागिता हुनेछ । यस्तै प्रतियोगिता काठमाडौँ र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ ।