file photo

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले अहिले नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चुनौती भएको बताउनुभएको छ । आज बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षकाे बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे ।
अहिले क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेकाले अर्थतन्त्रमा समस्या देखिएको उहाँकाे भनाइ छ । मन्त्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्नका लागि नीतिगत उपायहरू अवलम्बन गर्ने बताउनुभयो । उहाँले आर्थिक वर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनका लागि संशोधित कार्ययोनजना बनाउने पनि उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र जोगाउन आयात निरुत्साहित गर्न बाध्य हुनुपरेको बताउनुभयो । उहाँले विदेशी विनिमय सञ्चिति घट्दै जाँदा आयात निरुत्साहित गर्नुपरेकाे बताउनुभयो । गभर्नर अधिकारीले आयात निरुत्साहित गर्दा भन्सार राजस्वमा प्रभाव पर्ने जोखिम मोलर भए पनि आयातमा कडाइ गरिएको भनाइ राख्नुभयाे ।