मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरि मोटरसाईकल सहित चोरीमा संलग्न रहेको ४ जनालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले कोल्बी नगरपालिका–९ का १८ बर्षीय निरन्जन चौधरी, रौतहट गजुरा नगरपालिका–४ का २२ बर्षीय राजकपुर चौधरी, गजुरा नगरपालिका– ४ भई बारा निजगढ बस्ने ३१ बर्षीय ज्ञानेन्द्र चौधरी र बारा कोल्वी नगरपालिका–६ पर्सौनीका २२ बर्षीय धिरज चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले निरन्जनको साथबाट प्रदेश नं.३–०३००१०प४९५९ नंबरको २२० सी.सीको रातो पल्सर, राजकपुरको साथबाट कालो रंगको २२० सी.सीको नयाँ (अन टेष्ट) पल्सर, ज्ञानेन्द्र र धिरजको साथबाट सेतो रंगको प्रदेश नं.२–०३००२ प ५९४७ नंबरको बुलेट मोटरसाइकल बरामद गरेको छ ।उनीहरुलाई मोटरसाइकल चोरी गर्दै ल्याउने क्रममा हेटौंडाका विभिन्न स्थानबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये ज्ञानेन्द्र यसअघि जिल्ला अदालत मकवानपुरबाट मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेको पटके चोर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मोटरसाइकल चोरीमा संलग्र रहेको चारै जनालाई पक्राउ गरी चोरी कसुरमा थप अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ ।