हेटौंडाः भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरले प्रथम साधारणसभाबाट केदारप्रसाद चौलागाई अध्यक्षमा निर्वाचित हुनुभएको छ । शुक्रबार हेटौंडामा भएको साधारणसभाले चौलागाईको अध्यक्षतामा सर्वसम्मत ७ सदस्यीय समिति चयन गरेको हो ।

साधारणसभाबाट उपाध्यक्षमा निमेष निखिल, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा घनश्याम घिमिरे चयन हुनुभएको छ । यस्तै सदस्यमा शिवनारायण श्रेष्ठ, मोहनप्रसाद ढकाल र रामजी न्यौपाने चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षता तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका प्रमुख नरहरि घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको पनि उपस्थिति रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पहलमा नागरिकस्तरबाट भ्रष्टाचारविरुद्ध सचेतना अभियान तथा सदाचार प्रवद्र्धन गर्न नागरिक निगरानी संस्था स्थापना गरिएको हो । नागरिक निगरानी संस्थालाई बलियो बनाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यक्रममा सहभागीहरुले सुझाव दिएका छन् ।