हेटौँडा – हेटौँडामा जारी छैंठौ हेटौँडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगितामा बगरभाई खलक पोखरा र सानो गौचरण काठमाडौँ फाइनलमा प्रवेश गरेका छन् । शुक्रवार भएको सेमिफाइनल खेलमा बगरभाई खलकले चाबहिल भेट्रान्स र सानो गौचरणले हेटौँडा भेट्रान्स सुपरलाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन ।
पहिलो सेमिफाइनल खेलमा बगरभाई खलकले चाबहिल भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । बगरभाईका तर्फबाट खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गरेको गोल नै निर्णायक बनेको हो । खेलको म्यान अफ द म्याच पनि बगरभाई खलकका मनोज गुरुङ नै घोषित भएका छन् । यस्तै आजको दोस्रो सेमिफाइनल खेलमा सानो गौचरण काठमाडौले हेटौँडा भेट्रान्सलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । सानो गौचरण काठमाडौका तर्फबाट खेलको १७ औं मिनेटमा प्रमोद पाठकले र १९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गरेका हुन् । ४२ औ मिनेटमा हेटौँडा भेट्रान्सका जंगेबहादुर जंगेवाले सान्त्वना गोल गरेका थिए । प्रतियोगिताको फाइनल शनिबार दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।