मकवानपुरका गाउँगाउँमा मतपत्र, मत पेटीका लगायतका सामाग्री लिएर मतदान केन्द्रमा कर्मचारी पुगेपछी पर्सि शुक्रबार हुने पालिका चुनावको निकै रौनकता बढेको छ । आफ्ना जनप्रतिनिधी छनोट गर्नका लागि स्थानीय नागरिकहरु निकै आतुर देखिन्छन् । पाँच वर्ष सम्म नागरिकका सेवा गर्नका लागि जनप्रतिनिधी छनौट गर्नका लागि बैशाख ३० गते स्थानीय तहको चुनाब हुँदै छ । हिजो रातीबाट मौन अवधि सुरु भएको छ ।
चुनाबी प्रचार प्रसारको काम बन्द भएको छ । अझै पहिलो पटक मतदान गर्नका लागि मतदाता नामावलीमा नाम लेखाएकाहरु धेरै खुसी छन् । मतदानको दिन कहिले आइपुग्ला र मतदान गरौ भनेर उनीहरु झनै आतुर देखिन्छन् । अब मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् । यस अवधिको अनुगमन कामलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ । निर्वाचनका लागि मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी खटिएर काम सुरु गर्न सुरु भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताउनुभयो । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाईंदैन । यस अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
यस अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । चुनावको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् । यसैबीच चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा चुनाव गर्ने व्यवस्था गरेको बताउनुभयो । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताउनुभएको हो । यसैबीच आयाेगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेकाे छ । वैशाख ३० गते एकै चरणमा स्थानिय निर्वाचन हुँदैछ ।