हेटौंडा– आसन्न स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेको हेटौंडा उपमहानगरपालिका–९ को प्रचार प्रसार कार्यालय उदघाटन भएको छ । निर्वाचनलाई लक्षित गर्दै बिहिवार नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै प्रचार प्रसार कार्यालय उदघाटन गरिएको हो ।
कार्यालयको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको हो । सो अवसरमा नेकपा एमाले हेटौंडा–९ नम्बर वडा कमिटी अध्यक्ष यदुवंश खतिवडाको संयोजक्त्वमा वडा भित्र प्रचार प्रसारको लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको घोषणा गर्नुभयो ।
यसैगरी निर्वाचनका लागि नेकपा एमाले जिल्ला सदस्य नरेन्द्र भण्डारीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपकमिटी, नारायण खतिवडाको संयोजकत्वमा प्रतिबद्धता पत्र निर्माण उपकमिटी, दिपक मिश्रको संयोजकत्वमा कार्यालय ब्यवस्थापन र आन्तरिक मत सर्वेक्षण उपकमिटी तथा बिबेक दाहालको संयोजकत्वमा २०१ सदस्यीय स्वयम् सेवक उपकमिटी निर्माण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । यसैगरी कार्यक्रमका बिच ११ जना युवाहरु विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा एमाले मकवानपुरकी सह–इन्चार्ज जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य अनन्त पौडेल, रामचन्द्र राई, रघुनाथ खुलाल, एमाले मकवानपुरका सचीव नवीन सिग्देल लगायत जिल्ला सदस्य, नगर सदस्यलगायत वडाबासीहरुको उपस्थिति रहेको थियो ।
आसन्न निर्वाचनमा नेकपा एमलेबाट हेटौंडा–९ को वडा अध्यक्षको उम्मेदवारमा युवा नेता नरेन्द्र भण्डारीसहित हालका वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी र गोमा शाहको नाम वडा कमिटीले सिफारिस गरेको छ । यस्तै वडा सदस्यतर्फ दलित महिला सदस्यमा पुनः लक्ष्मी नेपाली निर्विरोध रुपमा सिफारिस हुँदा महिला सदस्यमा मीना अर्याल पनि निर्बिरोध सिफारिस हुनुभएको छ । २ जना खुल्ला सदस्यका लागि भने ६ जनाको नाम सिफारिस भएको छ । एमालेबाट जस्को नाम तय भएर आएपनि एमालेलाई बिजयी गराउन सबै लागीपर्ने पनि अध्यक्ष खतिवडाले प्रतिबद्धता जनाउनुभएको छ । २०७४ सालमा भएको अघिल्लो स्थानिय निर्वाचनलाई हेर्ने हो भने हेटौंडा–९ मा एमाले बलीयाे शक्तिको रुपमा रहेको छ । उक्त निर्वाचनमा वडा अध्यक्षसहित प्यानल नै बहुमतका साथ बिजयी भएको थियो ।