काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । त्यसको एक साता अगाडि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आएको छ । नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न गठबन्धन दलहरुबीच गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।