मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार (बिहान) करिब ३ बजेको समयमा बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित मतगणना स्थलमा अनाधिकृत रुपमा प्रवेश गरेका बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले मादक पदार्थ सेवन गरी अनाधिकृत रुपमा मतगणना स्थलमा पुगेर होहल्ला गरेपछि प्रहरीले पक्राउ गरेको हो । ‘मापसे गरी अनाधिकृत रुपमा मतगणना स्थलमा पुगेर होहल्ला गरेपछि हामीले पक्राउ गर्यौँ।’ मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले भने । बानियाँ अहिले पनि थुनामै छन् । उनीमाथि मुद्धा चलाउन पनि सकिने एसपी गुरुङले जानकारी दिए । बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँका भाइ हुन् । ईन्द्र बानियाँ गृहराज्यमन्त्री हुँदा शैलेन्द्र स्वकीय सचिव थिए ।