स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षासम्बन्धी सम्पुर्ण तयारी व्यवस्थित पारिएको छ । भोलि हुने स्थानीय तह निर्वाचनका लागि देशभर करिब २ लाख ७५ हजार सुरक्षाकर्मी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनलाई भयरहित र स्वच्छ बनाउनका लागि महत्त्वपूर्ण पाटो हो सुरक्षा व्यवस्था । यसैलाई मध्यनजर गरी स्थानीय तह निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थालाई व्यवस्थित र कडा बनाएको छ ।
सरकारले निर्वाचनको सुरक्षालाई लिएर केही दिन अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिसकेको छ भने निर्वाचनका दिन सुरक्षाका लागि विभिन्न घेरामा सुरक्षाकर्मीहरू खटाइने छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था मिलाइएको छ । त्यसमा करिब १ लाख म्यादी प्रहरी, झन्डै ७० हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र करिब ७१ हजार नेपाली सेना गरी झन्डै २ लाख ७५ हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो । त्यस्तै नेपाली सेना र सशस्त्र प्रहरीबाट गस्ती पट्रोलिंक भइरहेको र केही समस्या परेमा गस्ती पट्रोलिंकले पनि आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । यस पटकको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेका छन् भने १० हजार ७ सय ५६ मतदान स्थल रहेको छ ।
जसमध्ये २ हजार ९ सय ४६ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको छ । त्यस्तै २१ हजार ९ सय ५५ मतदान केन्द्र मध्ये ४ हजार ४ सय २३ अति संवेदनशील र ३ हजार ३ सय ८७ वटा केन्द्र कम संवेदनशील मानिएको छ । तर संवेदनशील र अति संवेदनशील घटना र परिस्थितले निर्धारण गर्ने हुँदा अहिले अति संवेदनशील भनिएका स्थान सामान्य पनि हुन सक्ने र सामान्य मानिएका संवेदनशील पनि हुन सक्ने भएकाले घटनाको अवस्था अनुसार तत्काल संशोधन गर्न सक्ने गरी सुरक्षाको प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेपछिको दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षालाई लिएर सरकारले झन्डै एक महिना अघिदेखि गृहकार्य गरिरहेको जनाएको छ । यसबिचमा संवेदनशील मानिएका कतिपय मतदान केन्द्रहरूलाई सामान्यीकरण गराउने प्रयास गरिएको र सामान्य बन्दै गएको पनि छ भने स्थानीय तह निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्न सुरक्षाको सम्पुर्ण तयारी चुस्त र व्यवस्थित पारिएको गृह मन्त्रालयले जनाएको छ ।











