आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो । जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी–ट्वान्टी खेल भने वर्षाले रद्द भएको थियो । नेपालको जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले अविजित रहँदै ८७ रनको अर्ध शतकीय इनिङ खेले । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे । जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए । मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाए । इनोसेन्ट कियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १/१ विकेट लिए । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो । अब नेपालले पाहुना टोलीसँग तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ ।