‘हु ईज केपी ओली’ भन्नेलाई बैशाख ३० गते जनताले देखाइदिन्छन् ।

हेटौंडा – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दावी गर्नुभएको छ । हेटौंडामा आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन सरकार परामेदशबाट निर्माण भएको टिप्पणी गर्नुहुँदै परमादेशी सरकारलाई जनादेशबाटै हटाउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो –“हामी परामदेशको जवाफ जनादेशबाट दिन्छौं । हामी जनमतबाटै तीन तहको सरकार बनाउँछौं ।”, उहाँले देशभर एमालेमा देखिएको उत्साहका कारण सत्तागठबन्धन आतंकित भएको टिप्पणी गर्नुभयो । स्थानीय तहको निर्वाचन नजिकिरहँदा हाम्रा कार्यकर्तामा उत्साह भरिएको छ । हामीलाई सिध्याउन निर्माण भएको गठबन्धन त्रसित अवस्थामा पुगेको छ ।’
अध्यक्ष ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भन्नुभयो–‘कांग्रेसको देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’ कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको उहाँले बताउनुभयो । ‘कांग्रेसको घोषणापत्रमा कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र छ । मेरो नाम ४२ ठाउँमा छ । १०८ ठाउँमा हुनुपर्ने थियो ।”, उहाँले कार्यकर्तालाई वैशाख ३० गतेको निर्वाचनमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउन आग्रह गर्नुभयो ।
अहिलेको लडाईं नेकपा एमाले र गठबन्धनबीचक मात्र भएको उहाँको भनाई थियो । “अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनवीचको मात्र लडाईं हो । यो लडाईं नेपाल जोगिने कि नजोगिने भन्ने पनि हो ।,” उहाँले अब देशमा कहिल्यै नाकाबन्दी नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो – “हाम्रो सरकारले चीनतर्फको बाटो खोलेको छ । जसका कारण अब हामी चौतर्फी घेराबन्दीबाट मुक्त भएका छौं । अब देशमा कहिल्यै नाकाबन्दी हुँदैन ।”, अध्यक्ष ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिने बताउनुभयो । “यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो । त्यो त हामी ३० गते देखाइदिन्छौं । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,” ओलीले भन्नुभयो । अध्यक्ष ओलीले देशभर एमालेको लहरले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन सरकारलाई पराजित गर्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले अहिलेको केन्द्र र प्रदेश सरकारले भएको मन्त्रालयहरुलाई फुटाएर खानको लागि मात्रै मन्त्रालयहरुको थप गरेको बताउनुभयो । उहाँले अहिले बागमती प्रदेशको राजधानी हेटौंडामा जता हेरो त्यतै मन्त्री नै मन्त्री देखिने गरेको तर काम भने केहि पनि गर्न नसकेको बताउनुभयो । उहाँले प्रदेश सरकारमा नयाँ सरकार बनेको केहि दिनमै सबै सांसदलाई मन्त्री बनाउने काम मात्र भएको बताउनुभयो । उहाँले बागमतीमा एमालेको सरकारले ७ मन्त्रीले काम गरेको तर अहिलेको सरकारले १८ मन्त्री बनाएको भन्दै यो सरकार खान जन्मिएको र देशलाई कंगाल बनाउन लागि परेको दाबी गर्नुभयो । उहाँले अहिलेको सरकारले फागुन भित्र सम्पन्न हुने स्थानीय निर्वाचनलाई धकेलेर पर सारेर बैशाख अन्तिममा पुर्र्याएको बताउनुभयो । उहाँले गबन्धन सरकार अहिले बाध्यताले चुनाव गर्न लागेको तर चुनाव रोक्न गठबन्धन सरकार लागि परेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको बताउनुभयो । कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताउनुभयो । दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताउनुभयो । अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ छ । रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको बताउनुभयो । वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताउनु भएको थियो । उक्त भनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेले कुनै पनि हालतमा देशव्यापी रुपमा जित्ने र पहिलो शक्तिको रुपमा स्थापित हुने बताउनुभयो । गठबन्धन कुनै पार्टी नभएको दाबी गर्दै उहाँले सरकार बनाउने हैसियत अरु पार्टीमा नभएको धारणा राख्नुभयो । कार्यक्रममा निर्वाचनको लागि तयार गरिएको पुस्तक विमोचन गरिएको थियो, भने विभिन्न पार्टी परित्याग गरि करीब सात सय जना एमालेमा प्रवेश गरेको थिए । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटि सदस्य तथा बागमति प्रदेश ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रिय सदस्य रामेश्वर राना लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।