तालमेल भएका ठाउँमा अविलम्ब खारेज गर्नुपर्ने

सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठकले गठबन्धन भित्रका दलहरूले वैशाख ३० मा सम्पन्न हुने निर्वाचनमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्न निर्देशन दिएको छ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न निर्देशन दिइएको हो ।
बैठकपछि विज्ञप्ति जारी गर्दै ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्नुपर्ने उल्लेख छ । विज्ञप्तिमा, स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने, प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धन भित्रका दलहरुबीचमा सिट बाँडफाँडको समझदारी गर्ने, समझदारी विपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारीहरू फिर्ता गर्ने लगायतका निर्णय भएको जारी विज्ञप्तिमा भनिएको छ ।