नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनलाई केन्द्रित ६ बुँदे सर्कुलर जारी गर्नुभएको छ । केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनको उम्मेदवार छनाेटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्बनका लागि हिजो सर्कुलर पठाउनुभएको हो । सर्कुलरमा पार्टीको तर्फबाट उम्मेदवार हुनेको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ ।
महानगर र उपमहानगरमा सकेसम्म सर्वसम्मत नभए बढीमा ३ जना उम्मेदवारको नाम चयन गरी पठाउनुपर्नेछ । नगरपालिका र गाउँपालिकामा प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको सिफारिस सम्बन्धित पालिका समितिले गर्नुपर्नेछ । माओवादी केन्द्रले महिलालाई उपमा सीमित नगरि प्रमुखको भूमिकालाई जोड दिने निर्णय पनि गरेको छ । हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमार्फत भनिएको छ । यस्तै, वडा अध्यक्ष र सदस्यको हकमा पार्टीको वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्नेछ । सत्तागठबन्धन दलबीच तालमेल गर्न र केन्द्रको स्वीकृति विना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ । तालमेल हुन नसक्ने अवस्थामा केन्द्रको स्वीकृति लिइ आवश्यक निर्णय गर्ने सर्कुलरमा भनिएको छ । यसअघि हिजो बिहान बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेको थियो ।