हेटौंडा – बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञानबाट अलग बनाएर पुरानै अवस्थामा फर्काउनेगरि अध्यादेश ल्याउने निर्णयका बिरुद्धमा हेटौंडामा बिरोध प्रदर्शन भएको छ । अध्यादेशको ल्याएकोमा नेकपा एमाले निकट जनवर्गीय संगठनले हेटौँडामा बिरोध गरेका हुन् ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजनीतिक प्रतिसोध साँध्नको लागि बागमती प्रदेश सरकारले शिक्षण अस्पतालको रुपमा विकास भैरहेको अस्पताललाई पुन पुरानै अवस्थामा ल्याउने गरि अध्यादेश ल्याउनु मकवानपुरे जनताको स्वास्थ्य माथिको खेलवाड भएको भन्दै एमालेका जनवर्गीय संगठनले बिरोध गरेका हुन् । जनवर्गीय संगठनका नेताहरुले हात तथा टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका थिए । उनिहरुले बागमती प्रदेश सरकारले जनविरोधी काम गरेको भन्दै अध्यादेश फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।“स्वास्थ्य विज्ञान प्रतिष्ठान सार्न पाईदैन, जनता मार्न पाईदैन” नारा सहितको प्लेकार्ड बोकेका युवाहरुले प्रर्दशन गरेका हुन् ।
हेटौंडामा नै चिकित्सा शिक्षा अध्यापन गराउने र प्रतिष्ठान मार्फत अस्पताल सञ्चालन गरिए पछि सेवामा निकै सुधार आएको थियो । तत्कालिन सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने खेलमा अहिलेको सरकार लागेको उहाँको ठम्याई छ । सामान्य ५० शैयामा सिमित रहेको हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रुपान्तरण गर्ने काममा बर्तमान सरकारले अबरुद्ध गरेकोमा उक्त कदम खेदजनक रहेको उहाँले बताउनुभयो । शिक्षण अस्पतालका रुपमा विकास गर्न प्रतिष्ठानमार्फत धमाधम भवन निर्माण भइरहेका छन् भने आईसियु, एचडियु, अक्सिजन प्लान्ट, डायलसिस सेन्टर, सिटि स्क्यान, एमआरआई, भेन्टिलेटर लगायतका सेवाहरु विस्तार भइरहेको उहाँले बताउनुभयो । ५० शैया, ३ सय शैया हुँदै हाल ५ सय शैयामा पुग्ने क्रममा रहेको अस्पताललाई प्रतिष्ठान मार्फतनै सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।