काठमाडौँ – निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने राजनैतिक दलहरूलाई आचारसंहितासम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ । आयोगले वैशाख ३० गते हुने निर्वाचनमा भाग लिने सम्पूर्ण दलका प्रतिनिधाहरूलाई आज आयोगको केन्द्रीय कार्यालयमा बोलाई आयोगले जारी गरेको निर्वाचन आचार संहिता २०७८ को प्रभावकारी कार्यान्वयनका लागि राजनैतिक दलहरूबाट प्रतिबद्धता लिएको हो ।
राजनैतिक दलहरू नै निर्वाचनका प्रमुख खेलाडीहरू भएका हुनाले आयोगले जारी गरेको आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन हुने सुनिश्चितताका लागि दलहरूबाट प्रतिबद्धता लिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । प्रतिबद्धता पत्रमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसाल, नेकपा (एमाले)का निर्वाचन विभागका सदस्य बाबुराम दाहाल लगायतका नेताहरूले हस्ताक्षर गर्नुभएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन बनाउन आयोगले तयार पारेको प्रतिबद्धता पत्रमा नेपालको संविधान, निर्वाचन आयोग ऐन, निर्वाचन कसुर तथा सजाँय ऐन लगायतका निर्वाचन एवं राजनैतिक दलसँग सम्बन्धित कानून तथा निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधानहरू इमानदारिताका साथ पालना गर्ने गराउने विषय उल्लेख छ ।आयोगले प्रतिबद्धता पत्रमा हस्ताक्षरका लागि आह्वान गरेको बैठकमा केही दलहरूले भने आयोगले पर्याप्त छलफल विना नै आचारसंहिता निर्माण गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भनी विरोध जनाएका थिए ।
निर्वाचन आयोगले राजनैतिक दलहरूलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएपछि आज नै ६० बुँदे निर्देशन समेत दिएको छ । आयोगको निर्देशनमा निर्वाचनमा उम्मेदवारी दिन, प्रचार प्रसार गर्न वा मतदानको अधिकारबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्याउने वा थुनछेक गर्न नहुने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थको प्रदर्शन तथा प्रयोग नगर्ने, सार्वजनिक भोज भतेरको आयोजना गर्न नहुने, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच पुग्ने गरी प्रचार– प्रसार वा कुनै गतिविधि गर्न नहुने लगायतका विषयहरू समेटिएका छन् ।