मकवानपुर – कृषि ज्ञान केन्द्र चितवनले चालु आर्थिक वर्षमा मकवानपुर र चितवनमा ८ वटा सिंचाई आयोजनाहरु (कुलो निर्माण) गर्ने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा सोमबार बसेको बैठकले कृषि ज्ञान केन्द्र चितवनको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत मकवानपुरमा १० लाखका दरका ७ वटा र चितवनमा १५ लाखको एउटा सिंचाई आयोजना निर्माणका लागि छनौट गरेको हो ।

बैठकले सिंचाई कार्यक्रममा प्रस्ताव पेश भएका मध्ये कृषि ज्ञान केन्द्रका प्राधिकहरुको स्थलगत अनुगमन मुल्याङकनका आधारमा ५० प्रतिशत अनुदानमा मकवानपुरका विभिन्न स्थानीय तहमा १० लाखका बराबरका ७ वटा र चितवनमा १५ लाख बराबरको एउटा कुलो निर्माणका लागि छनौट गरेको जिसस प्रमुख खुलालले बताउनुभयो । बैठकले मकवानपुको बकैया–८ विरेफाँटमा, विरेफाँट सिचाई निर्माण उपभोक्ता समिति र खजुरीदमार सिंचाई निर्माण उपभोक्ता समिति, बागमती–७, पाथिभरामा मोतीपुर जल उपभोक्ता समिति, मकवानपुरगढी–६ डुम्रेकुनामा प्रगती लघु उद्यम बहुउदेश्यीय कृषक समुह, गढी–५ तल्लो खैरनीमा तल्लो खैरनी सिंचाई आयोजना उपभोक्ता समिति, हेटौंडा ११ नवलपुरमा राप्ती तल्लो ताल सिंचाई योजना जल उपभोक्ता समित, भीमफेदी–९ मा डेड खोला नुन थला सिंचाई आयोजना र चितवनको खैरहनी–१० कठारमा कठार फफेनी जल उपभोक्ता समितिलाई छनौट गरेको हो ।
बैठकमा प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वय ईकाई मकवानपुरका प्रमुख कृष्ण प्रसाद पौडेल, जिल्ला समन्व्य अधिकारी आनन्दराज पोखरेल, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाकी प्रमुख टिका शर्मा, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, कृषि प्रसार अधिकृत सुरुची त्रिपाठी, लोखा अधिकृत कृष्णहरी पण्डित, अधिकृत उमराज अर्याल, कृषि विकास निर्देशनालय हेटौंडाका ईन्जिनीयर मोदनाथ तिमलसिना, मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक गोपाल लम्साललगायतको सहभागिता थियो ।