मकवानपुर – बागमती प्रदेशका पाँचजना किशानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ । आईतबार हेटौंडामा भएको कृषि विकास निर्देशनालय तथा पशुपन्छी विकास निर्देशनालयको चौमासिक प्रगति समिक्षा गोष्ठीमा प्रदेशका उत्कृष्ट ५ जना किसानहरुलाई नगद सहित सम्मान गरिएको हो ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैँया सहित पुरस्कृत गरिएको छ । यस्तै दितिय हुने दिदी बहिनी कृषि फर्म भक्तपुरकी गिता रिजाललाई नगद ४५ हजार र तृतीय हुने थाहा पौरखी कृषि प्रा.लिकी बरी बललाई नगद ४० हजार सहित पुरस्कृत गरिएको छ । यस्तै चौथो हुने कामना फलफुल बहुउदेश्यिय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र पाचौं हुने न्यू महाङ्काल कृषि फर्म काभ्रेलाई नगद ३० हजार सहित पुरस्कृत गरिएको हो ।
कृषि विकास निर्देशनालयले प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र मार्फत प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरुको प्रस्ताव सङ्कलन गरेर त्यस मध्येबाट ५ जनालाई पुरस्कृत गरेको हो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रदेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरुलाई पुरस्कारका लागि छनोट गरेको थियो ।