मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा आज विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिको सहभागितामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न आग्रह गर्नुहुँदै बालबालिकालाई खरिद गर्न पठाउने कार्यसमेत बन्द गर्न आग्रह गर्नुभयो । उहाँले सुरुमा आफूबाट प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई प्रयोग नगरौँ भन्ने सचेतना फैलाउन सबैलाई अनुरोध गर्नुभयो । हेटौँडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी पुनः बुद्धचोक पुगेर सडक नाटक प्रदर्शन गरिएको थियो । प्रभात फेरीमा नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर, स्वास्थ्य कार्यालय, स्वास्थ्य शिक्षण संस्थाहरू, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । धुवाँ आउने र नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पान पराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरूले सन् १९८७ मा विश्व धूम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो । विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण ज्यान जाने गर्छ । चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै स्वास्थ्यका लागि हानिकारक छ भनेर उल्लेख गरिएको हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका एक अर्ब ३० करोड सेवनकर्तामध्ये ८० प्रतिशत मध्यम आय भएका देशका नागरिक छन् । बर्सेनि आठ लाखको ज्यान जाने गरेको छ । सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोड भन्दा धेरैको ज्यान जाने अनुमान छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । नेपालमा पछिल्लो समय सार्वजनिक ठाउँमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकिरहेको छैन ।