नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावबाट पार्टीलाई बलियाे बनाउनुपर्ने बताउनुभएकाे छ । आज बुधवार काठमाण्डौमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भ्रमपूर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरू भएको दाबी गर्दै त्यसविरुद्ध बहुसङ्ख्याको अभिमत प्राप्त गरी स्थानीय तहको चुनावबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले वैशाख ३० मा हुने स्थानीय तहकाे चुनावमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिनुभएको छ । लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको चुनावमा बहुमत हासिल गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौँ । इतिहासको लोकतान्त्रिक आन्दोलनकोे विरासत हामीसँग छ । आजको समस्या र चुनौतीको सामना र समाधान गर्नुपर्ने उत्तरदायित्व हामीसँग छ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा हामीसँग छ । यसका लागि स्वाभाविक रूपमा आउँदा चुनावहरू महत्त्वपूर्ण छन् ।’केन्द्रीय कमिटी बैठकले स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गराउन सङ्गठनात्मक र प्रचारात्मक कार्यक्रम तथा जनपरिचालनसम्बन्धी महत्त्वपूर्ण निर्णय गर्नेछ । त्यसैगरी भोलि बिहीवारको बैठकमा चुनाव केन्द्रित गरेर बनाइएको पार्टीको ‘एप’ बारे केन्द्रीय कमिटी सदस्यलाई जानकारी गराउने पनि अध्यक्ष ओलीले जानकारी दिनुभयो । उहाँले नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेसँगै सदस्यता सङ्ख्या ११ लाख पुगेको आँकलन गरिएको दाबी पनि गर्नुभयो ।